परासी, १० माघ ।तराई मधेसमा लगातार बढेको चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ । चिसोको कारण गरिब, विपन्न, वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरी महिला बढी प्रभावित छन् ।
शीतलहरका कारण बढेको चिसोले कठ्यांग्रिँदो जिवन बाँचिरहेका विपन्न परिवारलाई पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१५ शुक्रौलीमा सिरक वितरण गरिएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निर्देशक एवं समाजसेवी डा.प्रवेश सिंह कुँवरको विशेष पहलमा रामग्राम नगरपालिकाको वडा नं.१०,१४,१५ र १६ का अति विपन्न ५० घरपरिवारलाई आज सिरक वितरण गरिएको हो ।
काठमाडौँ महानगरपालिका वडा नं.५ स्थित हाँडीगाउँका युवाहरुद्धारा स्थापित गैरसरकारी सामाजिक संस्था हाम्रो सोच नामक संस्थाले उक्त सिरक उपलब्ध गराएको पशुपन्छी तथा मत्यस विकास निर्देशनालय बुटवलका निर्देशक डा. कुंवरले जानकारी दिनुभयो ।
कार्यक्रममा रामग्राम वडा नं.१० का वडा अध्यक्ष सुरेश यादव, १४ का वडा अध्यक्ष ओमप्रकाश यादव, १५ का वडा अध्यक्ष धनपत यादव, १६ का वडा अध्यक्ष विजय यादव, समाजसेवी छोटेलाल अग्रहरी लगायतको सहभागिता थियो ।
वि.स.२०६७ सालमा स्थापना भएको हाम्रो सोच नामक संस्थाले देशका बिभिन्न क्षेत्रमा स्वास्थ्य, शिक्षा, सरसफाइ र विपद ब्यवस्थापनामा सहयोग गर्दै आएको जनाएको छ । यस संस्थाले कपडा बैंक सञ्चालन गरि अति विपन्न बर्गका समुदाय, अनाथाश्रम र बृद्वाश्रमहरुमा लत्ता कपडा, सिरक डस्ना तथा न्यानो लुगा वितरण गर्दै आएको संस्थाका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका वडा नं. ५ का वडा सदस्इ विजय प्रकाश कर्माचार्यले बताउनुभयो । शुक्रौलीका स्थायी बासिन्दासमेत रहनुभएका डा.कुँवरको समन्वयमा यस क्षेत्रका शीतलहर प्रभावित नागरिकलाई न्यानो सिरक वितरण गर्न पाउँदा खुशी लागेको उहाँको भनाई थियो ।
कार्यक्रमको व्यवस्थापन जनता माध्यमिक विद्यालय शुक्रौलीका अध्यक्ष वीरेन्द्र यादवले गर्नुभएको थियो भने
हाम्रो सोच संस्था मार्फत सिरक उपलब्ध गराउने लिली कर्माचार्य, महालक्ष्मी ट्रेडर्स प्रा.लि. ललितपुर, संजिव संग्रौला, किरण कुमार आचार्य, का.म.पा. वडा नं. ५ कार्यालयलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

