38 C
Parāsi
Saturday, July 4, 2026
spot_img

पाल्ही क्याम्पसमा ‘विद्यार्थी जनमत संघ’ को प्यानल विजयी

परासी : पश्चिम नवलपरासीकै पुरानो क्याम्पस पाल्ही बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा डा. सिके राउत नेतृत्व पार्टीको विद्यार्थी संगठन ‘विद्यार्थी जनमत संघ’ को प्यानल नै विजयी भएको छ।

विद्यार्थी जनमतका अध्यक्ष पदका उम्मेदवार बृजनन्दन कुर्मीले प्रतिद्वन्द्वी संयुक्त प्यानलका कृष्ण पटेललाई २८ मतान्तरले हराउँदै विजयी भएका हुन्। सचिव पदका उम्मेदवार प्रेमसागर यादवले प्रतिद्वन्द्वी नेविसंघका शिव प्रसाद हजारमलाई ४९ मतान्तरले पराजित गरे।

कोषाध्यक्ष पदका उम्मेदवार सितु कुमारी पटेलले प्रतिद्वन्द्वीलाई ३३ मतान्तरले पराजित गरे। उनका प्रतिस्पर्धी संयुक्त प्यानलका प्रविन प्रसाद हरिजन र नेविसंघका प्रतिमा यादवले ९७-९७ मत पाए। त्यसैगरी ५ सदस्सीय सदस्य पदका लागि भएको निर्वाचनमा शिवसागर गिरी, जवाहिर गुप्ता, सदानन्द कुमार नाउँ, अमित कुमार सहानी र सामलाल लोनिया निर्वाचित भए।

१५ सदस्सीय कार्यसमितिका लागि भएको निर्वाचनअन्तर्गतको ७ सदस्सीय समानुपातिकतर्फको निर्वाचनमा विद्यार्थी जनमत संघले १४७ मत, नेविसंघले १०२ र अनेरास्ववियुले ७९ मत पाएका छन्। कूल ३८५ मतदाता रहेको निर्वाचनमा ३२९ मत खसेको थियो। समानुपातिकतर्फ पनि सोही विद्यार्थी संगठनको मत बढी आएको छ।

चुनावमा जनमत विद्यार्थी संघ र नेविसंघ एकल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए। अनेरास्ववियु, जसपा निकट जनता विद्यार्थी फोरम, नागरिक उन्मुक्ति पार्टी निकट नागरिक विद्यार्थी र राप्रपाले संयुक्त प्यानल बनाएर चुनावमा उत्रिएका थिए।

 

थप समाचार

ताजा खबर