पेट्रोल पम्पमा इन्धनको कालोबजारी बढेको जनगुनासो आएपछि संयुक्त जिल्ला बजार अनुगमन समितिले सोमबार नवपरासीका पेट्रोल पम्पमा अनुगमन गरेको छ ।

संयुक्त बजार अनुगमन समितिले परासी, पाल्हिनन्दन र सरावलका गरी ६ वटा पेट्रोल पम्पमा अनुगमन गरेकोमा इन्धनको परिमाण नै कम गरेर बेच्ने गरेको पाइएपछि रामग्राम ६ स्थित सन्तोष आयल स्टोर्समा सिलबन्दी गरिएको संयुक्त बजार अनुगमन समितिका निरीक्षक अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा जिल्लाको रामग्राम नगरपालिकाको वडा नं. ६ पोखरापाली स्थित सन्तोष आयल स्टोर्समा रहेको सि.नं. २ को पेट्रोल बितरण पम्पमा गुणस्तर तथा नापतौल कार्यालय बुटवलको ५ लिटर क्षमताको स्टाण्डर्ड मेजरले चेकजाँच गर्दा प्रति ५ लिटरमा७० एम.एल. कमी देखिएकोले पेट्रोल पम्पमा सिलबन्दी गरिएको निरीक्षक अधिकृत एव सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।
उक्त कार्य स्टाण्डर्ड तथा नापतौल ऐन २०२५ र नियमावली २०२७ विपरीत देखिएकोले सि.नं. २ को पेट्रोल बितरण पम्पबाट पेट्रोल बिक्रीबितरण कार्य आजैका मितिबाट बन्द गर्न निर्देशन दिएको गुणस्तर तथा नापतौल बुटवलका निरीक्षक दिपेन्द्र रोकाहाले जानकारी दिनुभयो ।

