परासी, २६ जेठ
परासी, २६ जेठ ः वर्षाका कारण हुन सक्ने संभाव्य क्षति न्यूनिकरणका लागि जिल्ला विपद् व्यवस्थापन समिति पश्चिम नवलपरासीले कार्य योजना बनाएको छ । हरेक वर्ष वर्षाका कारण जिल्लामा धनजनको क्षति हुँदै आएपछि विपद् व्यवस्थापन समितिले सरकारी निकाय र सरोकारवालाको सहभागितामा पूर्वतयारीका लागि ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ बनाएको हो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको अध्यक्षतामा आज सम्पन्न बैठकले वर्षाका कारण पहिरो र डुबानका कारण जोखिममा पर्ने बस्ती र स्थानीयवासीहरुको सहयोगका लागि राहत तथा आवश्यक उद्दार सामाग्रीहरु तयारी अवस्थामा राख्न सरोकारवालाहरुलाई आग्रह गरेको छ । पूर्वतयारीका लागि स्थानीय तह, विषयगत सरकारी कार्यालय, निजी क्षेत्र, सामाजिक संघसंस्थालगायत सरोकारवालाहरुलाई समेटिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।
विपद् पूर्वतयारका लागि सचेतना जगाउ सन्देशमुलक सामाग्री प्रकाशन र प्रसारण गर्न जिल्लामा रहेका सञ्चारमाध्यमहरुलाई बैठकले अनुरोध गरेको छ ।
त्यसैगरी बैठकले पाल्हीनन्द गाउँपालिका र सरावल गाउँपालिकामा पर्ने झरही र धनेवा खोलाका कारण बस्ती जोखिममा पर्ने संभावना रहेकाले त्यस क्षेत्रमा थुप्रिएको मोटो र बालुवालाई व्यवस्थित गरी खोला सफा गर्ने निर्णय गरिएको छ । त्यसको जिम्मेवारी सम्बन्धित पालिकालाई दिइएको छ ।