परासी, २३ जेठ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका – २ मुखिया टोलका कृषकहरुलाई करिव रु. तीस लाख बरावरको कृषि यन्त्र उपकरण वितरण गरिएको छ । उक्त वडामा सञ्चालित धान ब्लक क्षेत्रमा आवद्ध कृषकहरुलाई आज पचास प्रतिशत अनुदानमा कृषि उपकरण हस्तान्तरण गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र परासीको सहयोगमा र सुनवल नगरपालिकाको समन्वयमा नमूना धान व्लक सञ्चालक समिति मुखिया टोल मार्फत आज उक्त सामग्री उपलब्ध गराएको हो ।
नमूना धान व्लक सञ्चालक समिति अध्यक्ष धनमाया गौतम क्षेत्रीका अनुसार मीनि टीलर ९ं थान,डिजिटल काँटा आठ थान, डेलिभरी पाईप सात सय केजी, पम्पसेट १९ थान, रिपर नौ थान, स्प्रे ट्यांकी ३९ थान, सादा स्प्रे दुई थान, थ्रेसर दुई थान लगायतका उपकरण वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले पाएको कृषि यन्त्रउपकरणको सदुपयोग गरेर लाभ लिन किसानहरुलाई आग्रह गर्दै कृषिमा आधुनिकीकरणका लागि यन्त्रको प्रयोग आवश्यक भएको बताउनुभयो ।
उहाँले कृषिबाट आत्मनिर्भरसँगै व्यवासायिक बन्न आग्रह गर्दै कृषि उत्पादनको बजार ब्यवस्थापनको लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । किसानहरुको उत्पादनमा कम लागतमा बढी आयआर्जन होस भन्ने उद्धेश्यले आधुनिक यन्त्र बितरण गरिएको नमूना धान ब्लक सञ्चालक समिति अध्यक्ष क्षेत्रीेले बताउनुभयो ।
नगरपालिकाका कृषि शाखाका अधिकृत सन्तोष कण्डेलले उत्पादन वढाउन पनि कृषि यन्त्र तथा उपकरणले सहयोग पु¥याउने बताउनुभयो । कृषकहरुको उत्पादनमा बृद्धि गर्न र कृषिलाई ब्यवस्थीत, उत्पादनमुखी र आयमुलक बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत कृषकहरुलाई सहयोग गर्दै आएको कृषि ज्ञान केन्द्रकी सूचना अधिकृत मनिषा पौडेलले बताउनुभयो ।
सुनवल २ का वडाध्यक्ष राजेन्द्र यादवले आधुनिक कृषि यन्त्रको प्रयोगसँगै अव उत्पादनमा वृद्धि हुने बताउँदै सुनवल नगरपालिकाले पनि दुई नम्बर वडालाई प्राथमिकता दिएको बताउनुभयो । उक्त अवसरमा कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सन्तोष चौधरी, धान ब्लक समितिका सचिव भीम थापा, सदस्य सरस्वती पौडेल भट्टराई लगायतले बोल्नुभएको थियो ।