20.5 C
Parāsi
Monday, November 11, 2024
spot_img

सुस्ता जोड्ने झोलुङ्गे पुल निर्माणमा सामग्री अभाव

पश्चिम नवलपरासीको सुस्तामा हुन लागेको झोलुङ्गे पुल निर्माणमा कोरोना महामारीका कारण आवश्यक सामग्री अभाव भएको छ । झोलुङ्गे पुल निर्माणका लागि आवश्यक पर्ने फलामका सामग्री निर्यातकर्ताले निषेधाज्ञा कारण उपलब्ध नगराएपछि समस्या हुन थालेको हो । पटक÷पटक म्याद थप भएको पश्चिम नवलपरासीको सुस्ता स्थित नारायणी नदीमा निर्माणाधिन झोलुङ्गे पुलको काम चलिरहेको छ । वर्षायाममा काम गर्न नसकिने भएकाले कोरोना महमारीका बीच पनि आवश्यक सावधानी अपनाइ काम भइरहेको सस्पेन्सन वृज डिभिजन ललितपुरका ईञ्जिनियर गोपालबहादुर थापाले जानकारी दिएका छन् ।
पुलको जमिनमुनि २ सय २० ओटा पाईलिङ्गको काम सकिएको छ । अहिले ठुला पिल्लर निर्माणको काम भइरहेको छ । १४ ओटा पिल्लर (टावर ब्लक) मध्ये ६ ओटाको काम सकिएको र क्याब निमाण भईरहेको आयोजनाले जनाएको छ । नारायणीमा पानीको सतह बढ्ने बित्तिकै काम गर्न नसकिने भएकाले वर्षायाममा चार महिना काम रोकिने छ ।
यसअघि पनि पटक÷पटक पानीको बहावका कारण काम गर्न कठिन भएको ईञ्जिनियिर थापाले बताए । झोलुङ्गे पुलको पाईलिंगको दुवैतर्फको काम सकिएकाले अब मुख्य काम नदीको बीचमा रहेका पिल्लर निर्माणको रहेको छ ।
कोरोना महामारीका कारण आवश्यक स्वास्थ्य सावधानी अपनाएर २०जना कामदारले दैनिक काम गरिरहेको आयोजनाका साईड ईञ्जिनियर सत्यन्द्र यादवले बताए । कोरोना महामारी र निषेधाज्ञाका कारण आवश्यक निर्माण सामग्री अभाव हुँदै गएकाले सोंचेअनुरूप काम गर्न नसकिएको आयोजनाले जनाएको छ । अहिलेसम्म तीब्र गतिमा काम भइरहेको भए पनि निर्माण सामग्रीको अभावका कारण समस्या देखिएको साईड ईञ्जिनियर सत्यन्द्र यादवले बताए । डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य नारायणी पारिका सुस्ताबासी पुल निर्माण भए सहजै आवातजवात गर्न सक्नेछन् भने गाउँपालिकासँग पनि प्रत्यक्ष सम्बन्ध स्थापित हुने सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
सुस्तामा संघीयतापछि विकास निर्माणका काम हुँदै आएका छन् । एकतर्फ भारत र बाँकी भाग नदीले घेरीएको सुस्ताका बासिन्दा पुल निर्माणको प्रतिक्षामा रहेका छन् । अहिलेकै गतिमा काम हुन सके छिटो काम सकिने सुस्ता बासीले आशा गरेका छन् । पछिल्लो पटक थप गरिएको म्याद गत वर्षको मंसिरमा समाप्त भएको हो ।
पहिलो चरणको कोरोना महामारीका कारण थप ६ महिना समय पाएको आयोजनाको म्याद यही असारमा समाप्त हँुदै छ । २०७२ सालमा ठेक्का सम्झौता भए पनि समयमै निर्माण कम्पनीले पुल निर्माणको काम नथाल्दा झोलुंगे पुल निर्माणको काममा ढिलाई भएको हो । जग्गा विवाद, विद्युत् आपूर्तिमा समस्या, कामदार अभाव लगायतका कारणले पनि पुल निर्माणमा ढिलाई हुँदै आएको आयोजनाको भनाइ रहेको छ ।
नेपालकै लामो पुल मध्येको उक्त पुल १५ सय ७१ मिटर लामो हुने छ । २० करोड ९३ लाख ७९ हजार लागतमा पुल निर्माणको ठेक्का त्रिशुली आश्रय जेभि काठमाडौंले पाएको हो ।

थप समाचार

ताजा खबर