परासी, ७ भदौ ः
पश्चिम नवलपरासीमा आइतबार मात्रै ३५ जना कोरोना संक्रमित देखिएका छन् । संक्रमितमध्ये पृथ्वीचन्द्र जिल्ला अस्पतालका ४ जना डाक्टर र १ नर्स छन् । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताललाई सिल गरिएको मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताए ।
आइतबार नै अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारी गरी कुल ६० जनाको स्वाब संकलन गरिएको छ ।
अस्पताल सिल गरेपछि प्रसुती र आकस्मिक सेवासमेत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । स्वाब संकलन गरिएका स्वास्थ्यकर्मीमध्ये १५ जनाको तत्काल रिपोर्ट मगाउने र त्यसपछि आकस्मिक र प्रसुती सेवा सुरु गरिने उनले बताए । रिपोर्ट नआउने बेलासम्म प्रसुती र आकस्मिक सेवाका लागि आउने बिरामीलाई अन्यन्त्र पठाइने छ । जिल्ला अस्पता
लबाट दिइने सेवा अन्य अस्पतालमा छैन । त्यका लागि भैरहवा र बुटवल जानुपर्ने बाध्यता छ ।
आइतबार संक्रमित फेला परेका अन्यमा पाल्हीनन्दन गाउँपालिकामा मात्र २६ जना छन् । जसमा गाउँपालिका अध्यक्ष दीपक गुप्ता र पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रकी १ स्टाफ नर्स छन् । सबैभन्दा बढी उक्त गाउँपालिकाको वडा नं. ३ का मात्रै १९ जना छन् । सो वडामा ३ वर्षीय बालकमा पनि पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख गौरब ढकालले बताए । अन्य ७ जना वडा नं ४, ५ र ६ का छन् । त्यसैगरी बर्दघाट नगरपालिकाका ३ र जिल्ला अदालतका १ कर्मचारीमा पनि आइतबार कोरोना संक्रमण देखिएको स्वास्थ्य प्रमुख ढकालले बताए ।
सबै संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुमध्ये केही होम आइसोलेसन र केही परासीस्थित पाल्ही क्याम्पसको आइसोलेसनमा रहेका छन् । ७ स्थानीय तह रहेको जिल्लामा हालसम्म १ सय ७६ जना संक्रमित भएका छन् ।