परासी, ३२ जेठ ।
रामग्राम महिला जेसीज परासीको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको अवसरमा रक्त सञ्चार केन्द्र परासीमा आयोजित कार्यक्रममा रक्तदान गरेका छन् ।
१७ जनाले कार्यक्रममा रक्तदान गरेका छन् 
पत्रकार तथा आफ्ना पूर्व अध्यक्षहरु गरी ३० जनालाई कोरोना भाईरसको जोखिमबाट सुरक्षित रहन सहयोग पुग्ने गरी केएन ९५ मास्क पनि वितरण गरिएको रामग्राम महिला जेसीज वर्ष २०२० की अध्यक्ष रजनी ढकालले जानकारी दिनुभयो ।
रगत अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर कोभिड १९ को महामारीको बेला पनि आवश्यक सुरक्षाका उपाय अपनाएर महिला जेसीजले रक्तदान कार्यक्रम गरी मानवीय सेवामा सहयोग गरेको अध्यक्ष ढकालले बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति राजेन्द्र अग्रहरीले महिला जेसीजले विषम परिस्थितिमा पनि रक्तदान कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै रक्तदानको महत्वको विषयमा थप जनचेतना आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले रेडक्रससँग मिलेर महिला सम्बन्धी कार्यक्रम सञ्चालन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
रामग्राम महिला जेसीजकी शाखा अध्यक्ष रजनी ढकालको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति राजेन्द्र अग्रहरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा रामग्राम जेसीजका अध्यक्ष सन्दीप अग्रहरी, रामग्राम महिला जेसीजका पूर्व अध्यक्ष द्धय रिंगला यादव र माया अग्रहरी, कार्यक्रम संयोजक रमा आले, महासचिव अनिता निवारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

