हरि शर्मा
परासी,३२ जेठ ः
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा निधन भएको शोकमा भोली सोमबार जिल्ला समन्वय समितिसहित जिल्लाका सबै स्थानीय तह बन्द हुने भएका छन् ।
समन्वय समितिका प्रमुख शिवशंकर रायले आइतबार विज्ञप्ती निकालेर गाउँपालिकाका अध्यक्ष शर्माको निधनको शोकमा सबै स्थानीय तह बन्द हुने जनाएका हुन् । विज्ञप्तीमा दिवंगत आत्मप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरिएको छ । जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका छन् ।
अध्यक्ष शर्मा आइतबार जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन जाने क्रममा बर्दघाटमा दुर्घटनामा परेका थिए । आफैले चलाएको गाउँपालिकाको गाडीले साईकलमा आउदै गरेका यात्रुलाई जोगाउन खोज्दा गाडी कल्भर्टमा ठोकिएको थियो । उपचारको क्रममा उनको चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको थियो । ५१ वर्षिया शर्मा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।