“राहत वितरणलाई स्थगितगर्दै थप क्वारेन्टाइन निर्माणमा लाग्नुस् ”मुख्यमन्त्री पोखरेल

परासी, ३ जेठ ः प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राहत वितरणलाई स्थगितगर्दै थप क्वारेन्टाइन निर्माणमा लाग्न पश्चिम नवलपरासीका स्थानीय तहका प्रमुखहरुलाई निर्देशन दिएका छन् । कोरोना संक्रमणका विरुद्ध स्थानीय तहले अहिलेसम्म सञ्चालन गरेका गतिविधि र समस्याका बारेमा जानकारी लिन शनिबार पश्चिम नवलपरासीको सुनवल पुगेका मुख्यमन्त्री पोखरेलले सो निर्देशन दिएका हुन् ।
स्थानीय तहका प्रमुखहरुले पहिलो चरणको राहत वितरण कार्य सकिएको र दोस्रो र तेस्रो चरणको राहत वितरण गर्न लागिएको जानकारी गराएपछि मुख्यमन्त्री पोखरेलले धेरै स्थानीय तहले राहत वितरणमा होडबाजी गरेको भन्दै राहत वितरण स्थगित गरेर उनीहरुलाई श्रम केन्द्रीत रोजगारीको व्यवस्था गर्न निर्देशन दिए ।
संक्रमितहरुको उपचारका लागि प्रदेश सरकारले निर्माण गरेका ४ वटा कोरोना विशेष अस्पतालमा बिरामीहरु भरिएकाले त्यसलाई थप गर्र्ने निर्णय गरिएको मुख्यमन्त्री पोखरेलले बताए । तराईका जिल्लाहरुमा २ सय बेडका आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय गरिएकाले सोहीअनुसारको सेन्टर निर्माण गर्न उनले निर्देशन दिए ।
आइसोलेसमा बस्नेहरुलाई खाना र उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने र बसोबासको व्यवस्था स्थानीय तहले गर्नुपर्ने बताए ।
क्वारेन्टाइन निर्माणमा हुने खर्च तत्काल स्थानीय तहले गर्ने र त्यस्तो रकम पछि केन्द्रीय कोभिड कोषले उपलब्ध गराउने उनले बताए । मिडियामा हुने प्रचारलाई पत्रकारहरुले ध्यान दिनुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले अरुबेला जस्तो पछि सच्चाउने अवस्था नरहेकाले कोभिडका विरुद्ध अग्रपंक्तिमा रहेकाहरुको मनोबल बढाउने सूचनामा जोड दिन आमसञ्चारमाध्यमलाई आग्रह गरे ।
छलफल कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री एंव सरकारका प्रवक्ता बैजनाथ चौधरी, जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सदस्यहरु, जिल्लाका ७ वटै स्थानीय तहका प्रमुख, जिल्ला समन्य समितिका प्रमुख, जिल्लास्थित सुरक्षा निकायलगायतको सहभागिता रहेको थियो ।