11.7 C
Parāsi
Tuesday, January 13, 2026
spot_img

बैकको चर्को व्याज र आर्थिक मन्दी को कारण नवलपरासीमा दुई वर्षमै ६३७ उद्योग व्यवसाय खारेज।

परासी, ८ साउन

पश्चिम नवलपरासीमा उद्योग तथा व्यवसाय खारेज हुने दर दिनप्रतिदिन बढ्दो छ। घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीको तथ्यांकअनुसार पछिल्ला दुई वर्षमा ६ सय ३७ वटा उद्योग तथा बाणिज्य फर्म खारेज भएका छन्।

०८१/०८२ आर्थिक वर्षको अन्त्यसम्म ७ सय ३ वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भए पनि सोही अवधिमा ३ सय ८० फर्म खारेज भएका छन्। कार्यालयका सूचना अधिकारी कृष्ण काफ्लेका अनुसार, अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा ९ सय ३७ वटा फर्म दर्ता भए पनि २ सय ५७ वटा खारेज भएका थिए।

दुई वर्षको अवधिमा खारेजको संख्या ६ सय ३७ पुगेको उनले बताए।

खारेजीको प्रमुख कारण: आर्थिक संकट

बैंकको चर्को ब्याजदर, व्यवसाय नचलेको, र समग्र आर्थिक मन्दी खारेजीको प्रमुख कारण बनेको कार्यालयको निष्कर्ष छ।

सूचना अधिकारी काफ्लेले भने, “धेरै व्यवसायी ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन्। नयाँ व्यवसाय चलाउन चुनौतीपूर्ण भइरहेकाले दर्ता भएका धेरै व्यवसाय टिक्न सकेनन्।”

राजस्वमा ८% वृद्धि

हालै प्रकाशित तथ्यांकअनुसार, घरेलु तथा साना उद्योग कार्यालयले ०८१/०८२ मा ८८ लाख १७ हजार ३ सय ६७ रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो वर्ष ०८०/०८१ मा ८१ लाख ५८ हजार ३ सय ७० रुपैयाँ संकलन भएको थियो। यो वर्ष राजस्व संकलनमा ८ प्रतिशत वृद्धि भएको देखिन्छ।

सबैभन्दा धेरै कृषि र किराना व्यवसाय

०८१/०८२ मा दर्ता भएका ७०३ व्यवसायमध्ये ३१७ उद्योग तथा ३८६ बाणिज्य फर्म रहेका छन्। सबैभन्दा धेरै कृषि तथा पशुपालनसम्बन्धी उद्योग दर्ता भएका छन् भने किराना तथा खाद्यान्न बिक्री पसल सबैभन्दा बढी दर्ता भएका बाणिज्य फर्म हुन्।

तर, दर्ता दर अघिल्लो वर्षको तुलनामा केही घटेको देखिन्छ। गतवर्ष ८ सय ७८ वटा व्यवसाय दर्ता भएका थिए।

उद्योग व्यवसायको यस्तो अवस्थाले जिल्लाको आर्थिक स्वास्थ्यबारे चिन्ता बढाएको छ। साना तथा घरेलु उद्यमीहरूका लागि सहज ऋण र व्यवसायमैत्री वातावरणको खाँचो महसुस गरिँदै आएको छ।

थप समाचार

ताजा खबर