35.1 C
Parāsi
Sunday, July 3, 2022
spot_img

नवलपरासीका चिनी मिलमा उखुको अभाव

चिनी उत्पादनका लागि चिनिएको जिल्ला नवलपरासीका चिनी मिलमा अहिले उखु अभाव हुन थालेको छ । वर्षेनी उखुको उत्पादन घट्दै गएपछि पश्चिम नवलपरासीका चिनी उद्योगहरुले उखुको अभाव झेल्नु परेको हो । चिनी मिलबाट उखुको भुक्तानी पाउन नसकेका किसानहरु उखुखेतीबाट पलायन भएपछि उखुको उत्पादन घटेको हो ।

पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी मिलले एक वर्षमा करिब १२ लाख क्वीन्टल उखु ‘क्रसिङ’ गर्न सक्छ । तर मिलका सञ्चालकहरुका अनुसार यस वर्ष करिब तीन लाख क्वीन्टल मात्रै उखु क्रसिङ गर्नेछ ।
उद्योगका प्रमुख प्रशासकीय अधिकृत केशव आचार्यका अनुसार किसानहरुबाट पहिलेजस्तो उखु उत्पादन हुन छाडेपछि अहिले मिललमा आवश्यकता अनुसार उखु पाउन नसकिएको हो ।
सरकारले चलाउन नसकेर जीर्ण अवस्थामा रहेको लुम्बिनी चिनी उद्योगको निजीकरण भई यस वर्षदेखि सञ्चालनमा आए पनि उखुको अभाव झेल्नु परेको छ । उक्त उद्योग १८ वर्षअघि चीन सरकारको सहयोगमा निर्माण भएको थियो ।
चिनी उद्योगबाट उखुको भुक्तानी पाउन नसकेका किसानहरु उखु खेतीबाट पलायन भएपछि नवलपरासीका चिनी मिलमा उखुको अभाव भएको हो । जसकारण चिनी उद्योगले पूर्ण क्षमतामा चिनी उत्पादन गर्न सकेका छैनन् ।
उखु खेतमा भेटिएका प्रतापपुर गाउँपालिकाका किसान जयन्द्र गुप्ताले आफ्ना सबै छिमेकीहरुले उखु रोप्न छाडिसकेको बताए । उनले भने–‘मेरो घर वरपरका १२ घरले उखु लगाउने गथ्र्यौं । अहिले दुई घरले मात्र लगाइरहेका छौं । बाँकी किसानहरुले केराखेती गर्न लाग्नु भएको छ ।’ यसो त चिनी उद्योगहरुले फेरि किसानहरुलाई उखु खेतीतर्फ आकर्षित गर्न उखु उत्पादनमा सहयोग गर्ने बताइरहेका छन् । तर भुक्तानी नपाइने समस्यामा फसिने डरले किसानहरु विश्वस्त हुन सकेका छैनन् । किसान गुप्ता भन्छन्–‘केही मिलहरुले उखुका बीउ दिन्छौं भनेका छन् । तर धेरै दुःख पाइसकेकाले फेरि उखु खेतीमा कोही आउन मानिरहेका छैनन् ।’
लुम्बिनी चिनी उद्योगले पछिल्लो वर्षदेखि किसानहरुलाई उखु उत्पादनमा सहयोग गर्नका लागि उखुको बीउ वितरण गर्दै आएको छ । तर किसानहरु अनिच्छुक देखिएकाले यो कार्यक्रम त्यती प्रभावकारी नभएको उद्योगका सञ्चालक बताउँछन् ।
जिल्लामा किसानहरुले मुख्य रुपमा दक्षिणी भागमा व्यवसायिक रुपमा उखुको खेती गर्दै आएका थिए । तर, पछिल्ला पाँच÷सात वर्षदेखि चिनी उद्योगहरुले किसानको उखुको पैसा समयमा भुक्तानी नगर्दै किसानहरुले क्रमशः उखु खेती छाडेर अन्य खेतीतर्फ लागेका छन् । जसका कारण यो वर्ष जिल्लाका चिनी उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन गर्ने हैसियतमा नरहेको उखु कृषक समितिका नवलपरासीका अध्यक्ष दूधनाथ गुप्ताले बताउँछन् । उनका भनाईमा किसानहरुले जति दुःख पाउनु पाइसकेकाले अब भुक्तानीको समस्या झेल्न नसक्ने अवस्थामा पुगेका छन् ।
यता नवलपरासीमा यस वर्ष लुम्बिनी चिनी उद्योगसँगै सुस्ता गाउँपालिकामा बागमती खाड्सारी चिनी मिल्स प्रा.लि. पनि सञ्चालनमा आएको छ । तर लुम्बिनी उद्योगले जस्तै यस उद्योगले पनि उखुको अभाव झेल्दै आएको छ ।
बागमती खाड्सरी चिनी उद्योगले १४ क्वीन्टल उखु क्रसिङ गर्न सक्छ । तर सञ्चालन थापाका अनुसार उखु अभावका कारण यस वर्ष करिब पाँच क्वीन्टल हाराहारीमा उखु क्रसिङ हुनसक्छ ।
पूर्ण क्षमताअनुसार नपाएपछि किसानहरुले जति उत्पादन गर्छन्, त्यती मात्रै ‘क्रसिङ’ गर्ने उद्योगले जनाएको छ । मिलका सञ्चालक राम थापाका अनुसार किसानलाई उखु उत्पादनमा प्रोत्साहित गर्नका लागि उचित मूल्य दिन उद्योग तयार छ ।
उखु कृषक समितिका अनुसार यस वर्ष पश्चिम नवलपरासीमा उखु उत्पादन करिब ५० प्रतिशतले घटेको छ । समितिका अनुसार १२ क्वीन्टलको हाराहारीमा मात्र उखु उत्पादन हुने छ ।
यसैगरी जिल्लामा रहेको अर्को ठूलो चिनी उद्योग इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्री प्रा.लि.ले अहिलेसम्म करिब दुई करोड रुपियाँ किसानहरुलाई भुक्तानी गर्न बाँकी रहेको छ ।

थप समाचार

ताजा खबर