Sports

बार्सिलोनालाई झट्का, रियल शीर्ष स्थानमा

User Rating:  / 0

गएराति भएको ला लिगाको खेलमा बार्सिलोनाले हार व्यहोरेको छ । सेल्टा डि भिगोसँग ४–१ ले पराजित भएसँगै जारी सिजनमा बार्सिलोनाको शतप्रतिशत नतिजाको रेकर्ड अन्त्य भएको छ ।
आफ्नो पूर्व क्लबविरुद्ध नोलितोले गोलको खाता खोलेपछि लिभरपुरका पूर्व फरवार्ड लागो अस्पासले दुई गोल थपे । बार्सिलोनाको लागि खेल सकिनु १० मिनेट अघि नेयमरले सान्त्वना गोल गरे तर त्यसको तीन मिनेट लगत्तै भिगोको लागि गुडेटीले गोल गर्दै अग्रता ४–१ बनाए ।  
बार्सिलोनाका प्रशिक्षक लुइस इनरिक्वले विपक्षीको खेलको प्रशंसा गरे । ‘जब विपक्षीले आफूभन्दा राम्रो खेल्छन्, त्यहाँ भन्नु केही बाँकी हुन्न’, हारपछि उनले भने,‘उनीहरुले सुन्दर फुटबल खेलेर जिते, यस्तो हार म स्वीकार गर्छु ।’
रियलसँगै समान ५ खेल खेलेको बार्सिलोना १२ अंकसहित तालिकाको ५ औं स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा एट्लेटिक वेल्बाओलाई २–१ हराउँदै रियल मेड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
रियलको लागि करिब बेन्जेमाले २ गोल गर्दै जितको आधार दिलाए । उनले १९ र ७० औं मिनेटमा गोल गरेका थिए । एट्लेटिकोको लागि मेरिनो जुलागाले ६७ मिनेटमा गोल गरे ।

एएफसी यू–१६ छनोट : अन्तिम घडीको प्रतीक्षा

User Rating:  / 0

नेपाल एएफसी यू–१६ छनोट चरणमा पहिलो २ खेल जितेर दोस्रो चरणको नजिक पुगिसकेको छ । तर प्रशिक्षक उपेन्द्रमान सिंहको भनाइ मान्ने हो भने रेफ्रीले अन्तिम सिठ्ठी नफुकेसम्म केही भन्न सकिन्न । फुटबलमा सबै सम्भव छ ।

नेपालले शुक्रबार मात्र फुटबलमा सबै सम्भव हुने प्रमाणित गरिसकेको छ । आयोजक किर्गिस्तानसँग समूह ‘बी’ को खेलमा नेपाल मध्यान्तरसम्म २–० ले पछाडि थियो । तर, १८ मिनेटको अन्तरमा ३ गोल गर्दै ४–२ को जित निकालेर नेपाल अर्को वर्ष भारतमा हुने एएफसी यू–१६ च्याम्पियनसिपको नजिक पुगेको छ ।
नेपालले आइतबार अन्तिम खेलमा ओमानको सामना गर्दैछ । विजय वा बराबरीले नेपाललाई दोस्रो चरणमा पुर्‍याउनेछ । नेपालले पहिलो खेलमा जोर्डनलाई २–१ ले पराजित गरेको थियो । पहिलो खेलमा किर्गिस्तानमाथि २–० को जित हात पारेको त्यही ओमानलाई दोस्रो खेलमा जोर्डनले २–० ले पराजित गरेको थियो ।
‘हामी सबै खेल जितेर छनोट हुन चाहन्छौं,’ प्रशिक्षक सिंहले आफ्नो टिम बराबरीका लागि नखेल्ने उल्लेख गर्दै भने, ‘हामी आफ्नो खेल खेल्नेछौं । २ खेल जितेको भएर खेलाडीको मनोबल पनि उच्च छ । ओमान राम्रो टिम हो । उनीहरूका २ स्ट्राइकर अलि फास्ट छन् । त्यही भएर हामीले सतर्क भएर खेल्नुपर्छ ।’
नेपाल छनोटको निकै नजिक पुगेकाले उनी यो अवसर गुम्न नदिने पक्षमा छन् र उनी ओमानलाई निकै उच्च सम्मान पनि दिन्छन् । ‘यो निकै महत्त्वपूर्ण खेल हो । छनोट भइयो भनेर ढुक्क भएका छैनौं । अझ केही भन्ने स्थितिमा छैनौं । ओमान र जोर्डनको पनि सम्भावना छ । तर हाम्रो मनोबल उच्च छ, त्यसैलाई निरन्तरता दिन्छौं,’ उनले भने ।
एएफसी यू–१६ को समूह चरणमा कुल ११ समूह रहेका छन् र त्यसबाट सबै विजेता अर्को वर्ष हुने च्याम्पियनसिपको फाइनल चरणलाई छनोट हुनेछन् । त्यस्तै उपविजेतामध्ये उत्कृष्ट चार टिम पनि च्याम्पियनसिपमा पुग्नेछन् । छनोटमा सहभागी भए पनि भारतले आयोजकका रूपमा सीधै फाइनल चरण खेल्नेछ ।
डोलोन ओमुरजाकोभ रंगशालामा आइतबार अनुकूल नतिजा ल्याएमा नेपाली युवा फुटबलले विदेशी भूमिमा छनोट पार गर्दै नयाँ उपलब्धि हात पार्नेछ । नेपाल यसअघि ३ पटक एएफसी च्याम्पियनसिपमा छनोट भएको छ । तिनै पटक नेपालले छनोट चरण घरेलु भूमिमा खेलेको थियो । त्यसैले, विदेशी भूमिमा नेपाल पहिलोपटक छनोट नजिक पुगेको हो ।
प्रशिक्षक सिंहले नेपाली टिममा केही खेलाडी परिवर्तन हुने सम्भावना रहेको बताए । प्रजेन तामाङले आफ्नो स्थान गुमाउन सक्नेछन् । प्रशिक्षक सिंह उनको खेलप्रति सन्तुष्ट छैनन् ।
जोर्डनसँगको खेलमा उनलाई आधा घन्टापछि परिवर्तन गरिएको थियो । किर्गिस्तानसँग पनि उनी गोल लाइन नजिकबाट सामान्य ट्यापिङ गर्न चुक्दा नेपालले अग्रता लिने मौका गुमाएको थियो ।
उनको स्थानमा मैदानमा प्रवेश गरेका दिनेश हेन्जनले २ गोल गरेर किर्गिस्तानविरुद्ध नेपाललाई उत्कृष्ट पुनरागमन गराएका थिए । दिनेशसँगै राजीव लोप्चान र क्षितिज राजलाई पनि प्रशिक्षक सिंहले अवसर दिन सक्छन् । तर निर्णायक खेलमा उनी ठूलो जोखिम लिन चाहँदैनन् ।
ओमानका प्रशिक्षक याकुब साउद साइतले किर्गिस्तानसँगको नेपालको खेल प्रत्यक्ष हेरेका थिए । ‘हाम्रा विङ्स र स्ट्राइकर धेरै फास्ट छन् । ओमानले उनीहरूलाई मार्क गरेर खेल्न सक्छ । हामी खेल हेरेर रणनीति परिवर्तन गर्न पनि सक्नेछौं,’ सिंहले भने ।

More Articles...