बुधबार नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा,पारस भन्छन– स्कटल्याण्डलाई हराउँछौ

User Rating:  / 0
PoorBest 

साउन १२ ।  ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगितामा कमजोर प्रदर्शन गरेको नेपालले बुधबार एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । ट्वान्टी–२० विश्वकपमा गुमाएको साख फर्काउन नेपाललाई यो खेल निकै ठूलो अवसरको रुपमा अगाडी आएको छ । तर, नेपाललाई यो मौका भने त्यति सहज छैन । किनकी नेपालले ट्वान्टी–२० विश्वकप छनोटको विजेता टिमसँग खेल्दैछ । त्यो पनि उसैको घरेलु मैदानमा । 

नेपालले बुधबार आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप (आईसीसी डब्लूसीएलसी) अन्तर्गत स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । तीन दिनको बीचमा हुने दुई वटा खेल सन् २०१८ मा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खुड्किलो हो । लिग च्याम्पियसीपमा उत्कृष्ट प्रदर्शन गर्ने चार टिमले सन् २०१९ को एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछन् ।  

विश्वकप क्रिकेट लिगमा आठ एसोसिएट टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सन् २०१५ देखि २०१७ सम्म चल्ने प्रतियोगितमा एक दिवसीयको मान्यता पाएका ४ टिम तथा  गत जनावरीमा नामिबियामा भएको डिभिजन–२ प्रतियोतिगाका  उत्कृष्ट ४ टिम गरि ८ टिम  सहभागि छन् । नेपालले नामिबियामा भएको प्रतियोगिताबाट लिगमा स्थान पक्का गरेको थियो । 

लिगमा नेपाल र स्कटल्याण्ड बाहेक अन्य टिमले सुरुआती दुई खेल खेलिसकेका छन् । जसमा दुबै खेल जित्दै नेदरल्याण्ड्स पहिलो स्थानमा छ । नेदरल्याण्डले अघिल्लो महिना भएका खेलमा पपुवा न्यू गिनीबिरुद्धको दुवै खेल जितेको थियो । 

स्कटल्याण्डबिरुद्धको खेलअघि नेपाली टिमका कप्तान पारस खड्काले स्कटल्याण्डलाई पराजित गर्ने दावी गरेका छन् । आईसीसीसँग कुरा गर्दै पारसले भनेका छन्, ‘हामीले पछिल्लो केहि हप्ता यहाँको ‘कण्डिसन’मा खेलेका छौ, विस्तारै यहाँको ‘कण्डिसन’मा भिज्न थालेका छौ । हामीले आयरल्याण्डमा गरेको खराब प्रदर्शनलाई हेरेर टिम स्पीरिटको रुपमा अगाडि बढ्ने र प्रदर्शनमा सुधार गर्न जरुरी छ । स्कटल्याण्ड राम्रो टिम हो । हामी क्षमता अनुसार खेल्नेछौ । स्कटल्याण्डलाई पराजित गर्ने उत्कृष्ट योजना बनाउँनेछौ । सबै खेलाडीले अब माथि उठ्न जरुरी रहेको कुरा बुझेका छन् । ’    

यता स्कटल्याण्डका कप्तान प्रेस्टन मोम्सेनले पनि नेपालसँगको खेललाई लिएर उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘आईसीसी ट्वान्टी–२० छनोट प्रतियोगिताबाट प्राप्त उत्साहपछि हामी विश्व क्रिकेटमा अब्बल नेपाली टिमसँग खेल्दैछौ । हामी उच्च प्रदर्शन गर्न टिम भोकाएका छौ ।’ 

 नेपाली टिम 
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, अनिल कुमार मण्डल, शक्ति प्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर,  प्रदीप ऐरी, पृथु बास्कोटा, महेशकुमार क्षेत्री (विकेटकिपर), सोमपाल कामी, अभिनास कर्ण, करण केसी, सिद्धान्त लोहनी, राजेश पुलामी मगर

स्कटीस टिम
प्रेस्टन मेम्सेन (कप्तान), रिची बेरिङटन, केल कोइट्जर, म्याथ्यू क्रस (विकेटकिपर), कोल डे लाङ्ग, अलास्डायर इभान्स्, हमिस गर्डिनर, मिचेल लेयाक्स्, गाभिन मेन, जर्ज मुन्सी, साफ्यान सरिफ, क्राग वालेन्स्, मार्क वाट  

म्याच रेफ्रि – डेभिड जुक्स्, अम्पायर – इयान रामेज  र साउन जज

नेपाल भर्सेस स्कटल्याण्ड 
२९ जुलाई – पहिलो एकदिवसीय – एवाईआर क्रिकेट क्लब (स्कटल्याण्ड)  ३१ जुलाई–  दोस्रो एकदिवसीय – एवाईआर क्रिकेट क्लब (स्कटल्याण्ड)