दहचोक पर्यटकहरुको आकर्षण

User Rating:  / 0
PoorBest 

कीर्तिपुर, २४ माघ । नेपाल एकीकरण अभियानको ऐतिहासिक किल्ला दहचोकमा पर्यटकहरुको आकर्षण बढेको छ ।

काठमाडौँ पश्चिमभेगस्थित दहचोक गाविसको ६ नं वडामा पर्ने ऐतिहासिक दहचोक डाँडामा पछिल्लो समयमा पर्यटकहरुको आउने क्रम निकै बढ्दै गएको छ ।
आजभन्दा दुई सय ६६ वर्ष पहिले नेपाल एकिकरण अभियान सुरुवात भई टुक्रे राज्यहरु एक बनी सिङ्गो नेपाल बनाउने एक किल्लाका रुपमा रहेको यस स्थलमा पछिल्लो समयमा अवलोकन गर्न आउने पर्यटकहरु यहाँको ऐतिहासिकता एवम् दृश्यावलोकनका लागि लालायित बनेका छन् ।
अत्यन्त मनमोहक पूर्वतिर होचिँदै गएका आकर्षक डाँडाहरुको वरपर एकिकरणका क्रममा पृथ्वीनारायण शाहका साथ लागेर आएका थापामगर, आलेमगर, पुलामीमगर र बस्न्यात आदि परिवारहरुको वस्ती अझैसम्म पनि कायमै छ ।

पृथ्वीनारायण शाहले कीर्तिपुरसँग लडाइँ गर्न बनाएका किल्लाहरु यतिखेर पर्यटकहरुको आकर्षणका केन्द्र बनेको दहचोक एकता क्लबका अध्यक्ष रोशन दानीले जानकारी गराउनुभयो ।

    उहाँका अनुसार डाँडाको सबैभन्दा पश्चिममा रहेको काजी कालु पाँडेको समाधिस्थल यहाको दर्शनीय स्थल हो ।

    समाधिस्थलमा राखिएको शिलालेख अनुसार कीर्तिपुर आक्रमणका समयमा वि.सं. १८१४ जेठ १९ गते ज्यान गुमाएका कालु पाँडेले आफू मर्नुअघि मेरो समाधिलाई कीर्तिपुर र मनकामना देखिने ठाउँमा राख्नु भनेका कारण यहाँ राखिएको हो ।

    यहाँबाट गोर्खाको मनकामना मन्दिर देखिन्छ भने काठमाडौं उपत्यका सहित यस आसपासको विभिन्न क्षेत्रहरु नाङ्गो आँखाले एकसाथ देख्न सकिन्छ ।

    वि.सं.२०६४ जेठ १९ गते निर्माण गरिएको काजी कालु पाँडेको समाधि अहिले वर्षातको समय बाहेक आन्तरिक तथा बाह्य पर्यटन प्रवद्धनका लागि महत्वपूर्ण बन्दै गएको स्थानीयवासीहरुको भनाइ छ ।

    स्थानीयवासीका अनुसार डाँडामा रहेका ससाना इँटा र टायलका टुक्राहरु एकीकरणका क्रममा  किल्ला बनाउन गोर्खाली सेनाले प्रयोग गरेका थिए जुन अहिले पनि छन् ।

    पृथ्वीनारायणले नुवाकोट जितेपछि डाँडैडाँडा तथा काठमाडौं देखिने ठाउँका रुपमा दहचोकलाई रोजेको सहजै अनुमान गर्न सकिने दहचोक भ्रमणका क्रममा पुगेका कास्की घर बताउने सोमनाथ सुवेदीले बताउनुभयो ।

    यो स्थल दृश्यावलोकनका साथै नेपाल एकीकरणको अध्ययन गर्न चाहनेका लागि पनि महत्वपूर्ण स्थल बन्न सक्ने उहाँको भनाइ छ ।

    पछिल्लो समयमा स्वदेशी तथा विदेशी पर्यटकहरुको आकर्षण बढ्नुले यहाँको पर्यटकीय पूर्वाधारहरु यथासक्य चाडो निर्माण गर्नुपर्र्ने देखिएको क्लबका अध्यक्ष दानीले बताउनुभयो ।