मधेशी मोर्चाका मागबारे लिखित रुपमै साझा धारणा बनाउने सहमति

User Rating:  / 0
PoorBest 

माघ २ - प्रमुख तीन दलले आन्दोलनरत मधेशी मोर्चाका मागबारे लिखित रुपमै साझा धारणा बनाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेता र कार्यदलका सदस्यसहितको बैठकले आइतबारसम्ममा लिखित रुपमै मोर्चाका मागबारे ३ दलको साझाधारणा बनाउने समझदारी गरेका हुन् । मोर्चासँग आउँदो मंगलबार अघि नै सहमति गरि मोर्चालाई पनि संविधान संशोधन प्रक्रियामा सहभागि गराउन प्रयत्न गरिरहेका ३ दलले त्यसका लागि मोर्चाका सवै ११ वटै मागबारे लिखित रुपमै धारणा बनाउने बताएका हुन् । तर उनीहरुले यसअघि पटकपटक मोर्चाका मागबारे साझा धारणा बनाउने बताएपनि यस्तो धारणा भने बनाउन सकेका छैनन् । शनिबारको बैठकमा मोर्चालाई सहमतिमा ल्याएर संविधान संशोधनमा सहभागी गराउने विषयमा पनि छलफल भएको बताएका छन् ।मोर्चाको ११ बुँदे मागमध्ये धेरैजसो पुरा भएको र हुने क्रममा रहेकाले सीमाङ्कनको विषयलाई कसरी सम्बोधन गर्ने र त्यसबारे मोर्चालाई आश्वस्त पार्ने भाषाका बारेमा दुवै पक्षको कार्यदलको बैठकपछि थप छलफल गर्ने समझदारी भएको नेताहरुले बताएका छन् । बैठकपछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसी मोर्चालाई सहमतिमा ल्याई उनीहरुको समेत हस्ताक्षरमा आगामी ५ गतेको संसदको बैठकमा संशोधन गरिने गरि तयारी भइरहेको बताउनुभयो । उहाँले मोर्चाका मागलाई संविधानको अनुसूचीमा राख्न पनि तीनै दल सहमत भएको बताउनुभयो । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले ५ गते अघि नै सहमति खोज्ने गरी छलफल केन्द्रित गरिएकाले चाँडै सकारात्मक परिणाम आउने बताउनुभयो । एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले मोर्चाका मागबारे बुँदागत रुपमै लिखित रुपमा छलफल गरी सकारात्मक निष्कर्षमा पुग्नेमा छलफल भएको बताउनुभयो । बैठकमा कार्यदलका सदस्यले कार्यदल तहमा भइरहेको छलफलबारेपनि शिर्ष नेतालाई जानकारी गराएका थिए ।