लुम्बिनी गुरुयोजनाको बाँकी पूर्वाधार निर्माणसंगै तिलौराकोट र रामग्रामको विकासका लागि बुद्धस्थल विकासमा २० अर्ब आवश्यक

लुम्बिनी क्षेत्रका बौद्ध स्थलहरुको गुरुयोजनासहितको पूर्वाधार विकासका लागि २० अर्बको अनुमान गरिएको छ । लुम्बिनी गुरुयोजनाको बाँकी पूर्वाधार निर्माणसंगै तिलौराकोट र रामग्रामको विकासका लागि सो रकम आवश्यक हुने देखिएको हो ।
लुम्बिनी विकास कोषले लुम्बिनीको गुरुयोजना सकिनै लाग्दा रामग्रामको गुरुयोजना बनाएको छ । तिलौराकोटको गुरुयोजना निर्माणका लागि समेत अध्ययन सुरु भएको छ । उत्खनन् र पूर्वाधार निर्माणलाई बजेट आवश्यक हुन्छ । तिलौराकोट र रामग्राम क्षेत्रमा जग्गा अधिकरण गर्नुपर्ने भएकाले समेत ठूलो रकम आवश्यक हुने देखिएको हो । कोषका अनुसार २० अर्बको हाराहारीको खर्चमा तीन वटै क्षेत्रको स्वरुप फेरिने छ ।
विकास कोषले रामग्रामको गुरुयोजना निर्माण भएको छ । लुम्बिनी विकास कोषले रामग्राम स्तुपलाई केन्द्रभागमा राखेर गुरुयोजना निर्माण गरेको हो । बौद्ध साहित्यअनुसार रामग्राममा बुद्धको अस्तुधातु रहेको छ । माटोको ढिस्कोमुनि पुरिएको स्तुपाभित्र अस्तुधातु रहेको उल्लेख भए पनि अहिलेसम्म उत्खनन् भएको छैन ।
विकास कोषले स्तुपा क्षेत्रको उत्खनन् गर्दै पूर्वाधार निर्माणका लागि गुरुयोजना तयार पारेको हो । प्रारम्भिक गुरुयोजनामा रामग्राम स्तुप क्षेत्रभित्रको करिव १ सय ६७ बिगाहा जमिन अधिकरण गर्नुपर्ने देखिएको छ । स्तुपलाई केन्द्रभागमा राखेर एक किलोमिटर गोलाकारभित्रको जमिन अधिकरण हुने कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए ।
गुरुयोजनाको प्रारम्भिक लागत अनुमान ६ अर्ब गरिएको छ । यो रकममध्ये जमिन अधिग्रहणमा साढे १ अर्ब खर्च हुनेछ । कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार स्तुपा आसपासका क्षेत्रमा ‘जिलोफिजिकल सर्भे’ गरेर मात्रै पूर्वाधार निर्माणको काम सुरु हुनेछ । ‘सर्भेबाट पुरातात्विक क्षेत्रको पहिचान हुनेछ, त्यसै आधारमा उत्खनन् र पूर्वाधार निर्माण काम गर्ने योजना छ ।’– उनले भने ।
रामग्राममा अहिलेसम्म कुनै पनि भौतिक संरचना बनेको छैन । गएको वर्षमात्र स्तुपा घुम्न मिल्ने गरी वरिपरि काठको पदमार्ग बनाइएको थियो । विकास कोषमा पर्याप्त बजेट नहुनु र लुम्बिनी बाहेकका क्षेत्रको बेवास्था हुँदा पूर्वाधारको काम हुन सकेको थिएन । अहिले रामग्राम स्तुपा क्षेत्रमा करिव ९ बिगाहा जमिन मात्रै रहेको छ । अधिग्रहण गर्ने क्षेत्रमा केही निजी घरसहित खेतीयोग्य जमिन पर्छ । मुआब्जाका लागि सरकारको निर्णय चाहिनेछ ।
गुरुयोजनामा स्तुपाको चारैतर्फ सौन्दर्ययुक्त पार्क, बसपार्क, कोषको कार्यालयसहितका संरचनाको डिजाइन गरिएको छ । रामग्राम पुग्ने साँगुरो सडकलाई विस्तार गर्ने योजना समेत बनाइएको छ । विकास कोषले तिलौराकोट र रामग्रामलाई एकैसाथ विकास गर्ने योजना बनाएको छ । तिलौराकोटको अहिलेसम्म गुरुयोजना तयार भएको छैन । कोषका सूचना अधिकृत बस्नेतकाअनुसार कपिलवस्तुस्थित तिलौराकोटमा करिव ७ सय बिगाहा जमिन अधिकरणको प्रक्रियामा छ । त्यो मध्ये ३ सय ४५ बिगाहा जमिन अधिकरण गर्नुपर्ने बाध्यतात्मक हो । त्यस क्षेत्रमा पुरातात्विक वस्तुहरु फेला परेका छन् । तिलौराकोटको जमिन अधिग्रहणका लागि अहिलेसम्म करिव ४२ करोड खर्च भएको छ । १७ बिगाहा जमिन अधिग्रहण भएको छ । अन्य जमिनको अधिग्रहणको काममा भने ढिलाई भएको छ ।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न नेपालले पहल गरिरहेको छ । त्यसका लागि प्रमाण जुटाउन उत्खनन्लाई समेत निरन्तरता दिइएको छ । पुरातत्व विभाग, विकास कोष, दुराम विश्वविद्यालयले निरन्तर उत्खनन् गरिरहेका छन् । सो स्थानमा बुद्धकालभन्दा पहिलेदेखिकै पुरातात्विक वस्तुहरु फेला परिरहेको कोषका निमित्त सदस्यसचिव भट्टराईले जानकारी दिए । उत्खनन् गरिएको स्थलमा शुद्धोधनको दरबारका खम्बाका अवषेशहरु भेटिएको पुरातत्वविद्हरुले दाबी गरेका छन् ।
तिलौराकोटको जियोफिजिकल सर्भेमा दरबारकै संरचनासहितका कैयौ पुरातात्विक वस्तुहरु देखिएका छन् । त्यसको प्रमाणका लागि निरन्तर उत्खनन् गरिएको छ । कपिलवस्तु क्षेत्रमा २ सय बढी पुरातात्विक स्थलहरु भेटिएका छन् । तीमध्ये केहीस्थानमा मात्रै संरक्षणको पहल भएको छ । कोषकाअनुसार गोटिहवाको उत्खनन्लाई समेत अघि बढाइएको छ । सो स्थानमा निर्माण भएका केही संरचनाहरु हटाइएको छ । रामग्राम, तिलौराकोटको उत्खनन् र गुरुयोजना निर्माणसंगै दुई क्षेत्रलाई लुम्बिनीसंग जोडिनेछ । जसका लागि बौद्ध परिपथ सडक निर्माण भइरहेको छ । प्रदेश सरकारले यी ती क्षेत्र जोडिने गरी रेल सञ्चालनको अवधारणा समेत बनाएको छ । तर गुरुयोजना सम्पन्न गर्नका लागि कम्तिमा २० अर्ब लाग्ने अनुमान गरिएको छ । लुम्बिनी विकास कोषको गुरुयोजनामा अझै ६ अर्ब लाग्नेछ । तिलौराकोटका लागि सोही अनुपातकै रकम लाग्ने अनुमान विकास कोषले गरेको छ ।