नेकपाका मन्त्रीसँग खाए पत्रकारले सपथ

परासी ः प्रेस संगठन नेपालमा आवद्ध पश्चिम नवलपरासीका पत्रकारहरुले मन्त्रीसँग सपथ खाएका छन् ।

साविक प्रेस चौतारी र प्रेस सेन्टरबीच भएको एकतापछि गठन भएको प्रेस संगठनका पत्रकारहरुलाई परासीमा आयोजित एक कार्यक्रममा प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री एंव सरकारका प्रवक्ता बैजनाथ चौधरीले सपथ खुवाउनु भएको हो । मन्त्री चौधरी नेकपा प्रदेश ५ का सहइन्चार्ज एंव पश्चिम नवलपरासीका जिल्ला इन्चार्जसमेत हुनुहुन्छ ।

जिल्लामा प्रेस संगठनको १९ सदस्यिय समिति छ । दुई संगठनको भागबण्डाअनुसार पश्चिम जिल्लामा साविक प्रेस सेन्टरले संयोजकसहित ८ सदस्य र प्रेस चौतारीले सहसंयोजकसहित ११ सदस्य पाएको छ । नव गठित समितिमा आवद्ध पत्रकारहरुको भेला गरेर प्रदेश मन्त्री चौधरीले १७ जना जिल्ला सदस्यलाई सपथ खुवाउनु भएको हो । वेनीमाधव बस्याल संयोजक र मोहन पौडेल सहसंयोजक रहेको जिल्ला समितिका सदस्यहरुले मन्त्रीसँग सपथ खाएका हुन् । सपथ खाँदा पत्रकारहरुले पार्टी कार्यकर्ता सरह मुठ्ठी उठाएर अभिवादन गरेका थिए ।

। केही दिनअघि प्रेस संगठनका जिल्ला संयोजक र सहसंयोजकहरुलाई नेकपाका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौंमा सपथ खुवाउनु भएको थियो । सपथ कार्यक्रमा मन्त्री चौधरीले पत्रकारिता पेशालाई मर्यादित बनाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि प्रयाप्त बजेट विनियोजन गर्न नसकेको बताउँदै त्यसतर्फ सरकारले योजना बनाएर काम गर्ने चौधरीले बताउनुभयो ।

संगठनका जिल्ला संयोजक बस्यालको अध्यक्षतामा सम्पन्न सपथ कार्यक्रममा संविधानसभा सदस्य सीता बौडेल,पूर्वस्थानीय विकासराज्यन्त्री घनश्याम यादव, नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी, प्रेस संगठनका केन्द्रीय सदस्य भरत केसी, पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष मालती न्यौपाने, सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ता उपभोेक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, नागरिक समाजका पूर्वअध्यक्ष शम्भु प्रसाद उपाध्यय .संगठनका सहसंयोजक मोहन पौडेललगायतले पत्रकारिता क्षेत्रको बारेमा प्रकाश पार्नु भएको थियो ।