33.3 C
Parāsi
Friday, April 19, 2024
spot_img

एसीसी यु-१९ एसिया कप : लगातार दोस्रो खेलमा नेपाल पराजित

एसीसी अन्डर १९ एसिया कपको दोस्रो खेलमा पनि नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको २६२ रनको लक्ष्य बंगलादेशले ४९.२ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो ।

बंगलादेशका लागि अकबर अलीले नटआउट रहँदै ९८ रन बनाएर टोलीलाई जीत दिलाए । उनले ४२ रन बनाएर नटआउट रहेका सामिन होसेनसँग शतकीय साझेदारी गरेपछि बंगलादेश विजयी बनेको हो ।

त्यस्तै, तहिद हृदोयले ६० तथा मोहमदुल हसन जोयले ४० रनको योगदान दिए ।

नेपालका लागि कमलसिंह ऐरीले २ तथा रसिद खान र हरिबहादुर चौहानले १–१ विकेट लिए ।

यसअघि, पवन शर्राफ र सन्दीप जोराले अर्धशतक बनाएपछि नेपालले निर्धारित ५० ओभरमा नेपालले ८ विकेटको क्षतिमा २ सय ६१ रन बनाएको थियो ।

श्रीलङ्काको पी सारा मैदानमा टस हारेर नेपालले पहिलो ब्याटिङ गरेको थियो ।

नेपालका लागि शरार्फले १११ बलमा सर्वाधिक ८१ रनको योगदान दिए । उनले यस क्रममा ८ चौका र १ छक्का हिर्काए ।

उनले ओपनर रित गौतमसँग मिलेर पहिलो विकेटको लागि ४५ रनको साझेदारी गर्दै उत्कृष्ट शुरुवात दिए । गौतमले तीन चौका र एक छक्का हिर्काउँदै ३२ रन बनाए ।

त्यस्तै, सन्दीप जोराले विष्फोटक ब्याटिङ गर्दै ३७ बलमा ५६ रन बनाउँदै नेपाललाई विशाल योगफलतर्फ डोर्याए । जोराले ३ चौका र समान छक्का हिर्काए ।

कुशल मल्लले २८ तथा भीम सार्कीले २१ रनको योगदान दिए ।

बंगलादेशका लागि तन्जिम हसन र मोहमद साहिन अलोमले २–२ विकेट लिए ।

प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो ।

थप समाचार

ताजा खबर