काठमाडौं । सन् २०२० मा घोषणा गरिने ९२औं एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाको लागि नेपाली फिल्म ‘बुलबुल’ सिफारिस गरिएको छ ।
समितिको बुधबार बसेको बैठकले बुलबुललाई सिफारिस गरेको हो ।
एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले हरेक बर्ष एकेडेमी अवार्ड (अस्कर) आयोजना गर्ने गर्दछ ।
नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले सन् २०१८ अक्टोबर १ देखि सन् २०१९ अगस्ट ३० सम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रलाई सहभागिताका लागि आह्वान गरेको थियो ।
समितिले तोकेको मितिमा बुलबुल मात्र सहभागी भएको थियो ।
बुलबुलले सन् २०२० को फेब्रुअरी ९ मा अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा हुने ९२औं एकेडेमी अवार्डमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा अन्य देशका चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ ।
स्वस्तिमा खड्का र मुकुन भुसाल अभिनीत बुलबुल चलचित्र विनोद पौडेलले निर्देशन गरेका हुन् । बुलबुल सिफारिस भएको खबर सुन्दा निकै खुशी लागेको उनले बताए । पौडेल हाल नयाँ चलचित्रका लागि स्क्रिप्टमा व्यस्त छन् ।