38 C
Parāsi
Saturday, April 20, 2024
spot_img

दाङमा डुबेर तीनजनाको मृत्यु

दाङ । दाङमा डुबेर शनिबार तीन जनाको मृत्यु भएको छ । खोलामा माछा मार्ने क्रममा तुलसीपुरमा दुई र घोराहीमा एक शिशुको खेल्ने क्रममा कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विनोदविक्रम शाहका अनुसार शनिबार बिहान करिब साढे १० बजेतिर घोराही उपमहानगरपालिका–७ राजपुरकी एक बालिकाको कुलोमा डुबेर मृत्यु भएको हो । एक वर्षीया बालिका खेल्ने क्रममा कुलोमा डुबेको थाहा पाएपछि परिवारले उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको केही समयपछि नै चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै‚ तुलसीपुर उपमहानगरपालिका–८ गोतेखोलामा माछा मार्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ । सल्यान कपुरकोट गाउँपालिका–५ घर भई तुलसीपुर कटरकुइयामा बङ्गुरपालन गर्दै आएका २० वर्षीय अर्जुन बुढा र ओखलढुङ्गा घर भई सोही ठाउँमा बस्दै आएका २६ वर्षीय मिलन लामा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करेन्ट लागेर घाइते

शनिबार करिब साढे १० बजेको समयमा घोराही–१५ भिङ्ग्रेलीचेकमा बस्ने रोशन दाहालको नयाँ घर निर्माणका क्रममा एक कामदार गम्भीर घाइते भएका छन् । घर निर्माण गर्ने क्रममा घरमाथिको सप्लाइ लाइनबाट एक्कासी करेण्ट सर्ट हुँदा घोराही–१८ रझेना बस्ने २५ वर्षीय शिशिर चौधरी घाइते भएका हुन् ।

घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपश्चात थप उपचारका लागि मेडिकल कलेज कोहलपुर बाँके सिफारिश गरिएको प्रहरीले जनाएको छ ।

थप समाचार

ताजा खबर