गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः परीक्षण उडानको मिति तोकिएको छ । निर्धारित समयभन्दा निकै ढिलो निर्माण सकिएको विमानस्थलमा अबको दुई महिनापछि नियमित उडान हुनेछन् । भैरहवाबाटै अन्तर्राष्ट्रिय उडान भएपछि पश्चिम नेपाललाई अब काठमाडौं जानुपर्ने बाध्यता हट्नेछ । त्यसका लागि भने अझंै केही समय कुर्नुपर्नेछ ।
विमानस्थल निर्माण सम्पन्न भई उडानको तयारीमा छ । दुई चरणमा निर्माण भएकोे विमानस्थलको आइसीबी १ र आइसीबी २ को काम सम्पन्न भई परीक्षण उडानका लागि दक्ष एरोथाईका प्रविधिक उपकरण चेकजाँचमा छन् । फागुन ६ गतेबाट क्यालिब्रेसन उडान हुने भएपछि क्यालिव्रेशनलाई अवरोध नहोस् भन्ने हेतुले नियमित उडानलाई दिउँसोमा रोक लगाइएको छ ।
यान्त्रिक परीक्षण उडान क्यालिब्रेसनको नोटामका लागि नियमित उडानको तालिकालाई फागुन ६ गतेदेखि १५ गतेसम्म दिउँसोबाट साँझमा सारीएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद रावतले जानकारी दिए । क्यालिब्रेशनको फ्लाइटको लागि मौसम सफा चाहिने हुँदा क्यालिव्रेशन अवधि दश दिन नियमित उडानको समयतालिका साँझको साढे ५ बजेपछि सारिएको उनले बताए । ‘विमानस्थल बन्द होइन, यो क्यालिब्रेशनमा अवरोध नहोस् भन्ने मात्रै हो ।’– उनले भने । एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) को जहाज फागुन ५ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर भैरहवा विमानस्थल आउने छ ।
उडानका समयमा गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण समय ढिलो हुने भएकाले सम्बन्धित वायुसेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । परीक्षण उडान पश्चात यो विमानस्थलमा आन्तरिक उडान हुन्छ । भैरहवाबाट आन्तरिकतर्फ काठमाडौं, पोखरा र भरतपुरका लागि २२ वटा नियमित उडान हुने गरेको छ । विमानस्थल भौतिक रुपमा सञ्चालन योग्य भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका लागि १२ औँ तहको अधिकृतलाई महाप्रबन्धकको रुपमा पठाएको छ । माघ २ गतेबाट प्राधिकरणले गोविन्दप्रसाद दहाललाई व्यवस्थापनको जिम्मा दिएको छ ।
विमानस्थल सञ्चालनको लागि तयार छ । हवाई इन्धनका लागि भण्डारण क्षमता बढाइएको छ । विद्युत्का लागि पनि डेडिकेटेड लाइन व्यवस्थापन गरिएको छ । विद्युत् लाइनमा आपूर्ति नहँुदा स्वचालित हुने जेनेरेटर भएकोले विद्युत्को समस्या नहुने विमानस्थल प्रशासनले जानकारी दिएको छ । परीक्षण उडानको २ महिनापछि मात्रै नियमित उडान हुन्छ । विमानस्थलसँगै कार्गो निर्माणको काम पनि अन्तिम चरणमा छ ।
चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माण गरेको हो ।
विमानस्स्थलबाट उडानसँगै अन्तर्राष्ट्रिय यात्रुहरु यहीबाट गन्तव्यमा पुग्न सक्नेछन् । रोजगारीका सिलसिलामा जाने र फर्किनेहरु भैरहवामै आउनेछन् । त्यसका लागि अध्यागमन, श्रम कार्यालयसहितका संरचनाहरु निर्माण हुनुपर्नेछ । श्रमको इजाजत बुटवलबाटै हुने गरेको छ । हाल मुख्यमन्त्री कार्यालय भवन श्रम कार्यालयकै हो । यी संरचनाहरुमा विमानस्थलपछि आवश्यक हुने सरकारी अड्डाहरु स्थापना हुनेछन् ।