खानेपानीमा के को राजनिति ?

रामग्राम भन्ना साथ हामीले भगवान बुद्दलाई सम्झी हाल्छौं । धार्मिक तथा ऐतिहासिक पृष्ठमा देख्दा रामग्राम भगवान बुद्दका अस्तु धातु भेटिएको स्थान हो । भगवान बुद्द जसले मानव सभ्यता र कल्याणका लागि आफ्नो राजषि माया मोह छाडी सन्यासी जिवन बिताउनु भयो । बुद्द नेपालमा जन्मेका हुन् भनि बिभिन्न कार्यक्रम गरिरहेका छौं तर तिनै बुद्दको उपदेश तथा सिद्दान्तहरू कसैले आफ्नो जिवनमा व्यवहारगत गरेको भेटिदैन । भगवान बुद्दका लागि लड्नेले के यिनका सभ्य उपदेश मनन गर्नु पर्दैन ? कुनै समयको सुन्दर, शान्त र विशाल देश आज भ्रष्टाचार उन्मुख राज्य बनेको छ । आफ्नो स्वार्थ पुरा गर्न अरूको जिवनलाई नै दाऊमा पुर्याउने यहाँ होडबाजी चलिरहेको छ । जनताको दुःख मर्म बुझ्ने जिम्मेवार नेता नेपालले कहिले पाउने होला ? झट्ट राजनिति बुझ्दा, यो त देशका नदी नाला बेचेर अर्बपति बन्नु रहेको छ । विचरा देश र देशवासी, कुनै बेलाको जलश्रोतको धनी देश मरूभूमि बन्न बेर छैन् । अबको राष्ट्रिय समस्या देशमा स्वच्छ र स्वस्थ खानेपानीको अभाव नै हुनेमा विश्वस्त भएको छु ।

नेपालका निरिह जनता तथा भ्रष्ट नेताका कारण प्राकृतिक श्रोत साधनका दोहन कार्यले हाम्रो जिवनमा अनेकौं प्रकारका समस्याहरू उत्पन्न हुँदै आईरहेका छन्, समयमै यसको रोकथाम हुन सकेन भने मानव जिवनको अन्त्य पनि सुनिश्चित नै छ । हाम्रो रामग्राम राम्रो रामग्रामको नारा लाउँदैमा रामग्राम राम्रो भई हाल्ने होईन । अविकासका थुप्रै समस्या मध्ये स्वच्छ तथा शुद्द स्वस्थ खानेपानीको अभावलाई मुख्य मान्न सकिन्छ । रामग्राममा खानेपानी संस्थानको स्थापना भएको छ, यसमा कुनै विरोध छैन तर अन्य कार्यालय झै यो कार्यालय पनि राजनितिक चपेटामा परेको छ, भ्रष्टाचारको थलो भएको छ । यहाँ भ्रष्टाचार भन्नाले पैसा वा घुसको लेनदेन भन्न खोजेको होईन, त्यो पनि होला तर के कत्ति छ भन्न सक्दिन् । सरल भाषामा भन्नु पर्दा आफूले विश्वास साथ पाएको काम कर्तव्य यदि ईमान्दारी साथ पुरा गरिएन भने त्यो प्राप्त अधिकारको दुरूपयोग हो, भ्रष्टाचार हो । रामग्राममा स्थापित खानेपानी संस्थानले नगरवासीलाई कन्तविजोग बनाएको देखिन्छ ।

नेपाल सरकारले खानेपानीको समस्या अन्तर्राष्ट्रिय समस्या हो, हामीले आफ्नो सक्दो प्रयास जारी राखेको भनि पन्छिन् खोजेको कैयौं उदाहरण भेटिन्छन् । लगभग तिन दशक देखि मेलम्चीको पानीलाई काठमाडौं ल्याउने प्रयास दुई तिहाई कम्युनिष्ट सरकारको पालामा पनि सफल हुन सकेन् । होस् पनि कसरी ? सम्पूर्ण नेता देखि कर्मचारीहरू भ्रष्टाचारमा सिपालु । देशको मुल कानून, संविधान माथि कोही हुँदैन तर नेपालमा स्थित अराजक राजनितिले संविधानको मुलमर्म र उद्देश्य समेतलाई लत्याएको महसुस गर्न सकिन्छ । नेपालको संविधानले नागरिकको मौलिक हक अन्तर्गत समानताको हक, स्वच्छ वातावरणको हक, स्वास्थ्य सम्बन्धी हक, खाध सम्बन्धी हक तथा उपभोक्ताको हक समेत सुनिश्चित गरेको पाईन्छ, स्वच्छ र स्वस्थ खानेपानीको सरोकार यि अधिकारहरूसंग प्रत्यक्ष सरोकार राख्दछन् । संविधानका यि मौलिक हकअधिकारको सुनिश्चिता कायम गरी प्रचलन गरिराख्न तथा गराई राख्न नेपाल सरकारलाई प्रतिवद्दबनाएको छ तर सत्ताको दुष्ट खेलमा पिडित नागरिकहरूलाई सबै प्रकारको उपचार तथा क्षतिपूर्तिको सुनिश्चिताबाट बञ्चित गराइएको छ ।

हाम्रो राम्रो नगरपालिकामा अवस्थित खानेपानी संस्थानपनि राजनितिक अखाडा बनेको छ । कुन दलको कार्यकर्तालाई कार्यालय प्रमुख बनाउने नबनाउने होडबाजी चल्दै आएको छ । यिनै भागवण्डाका कारण संस्थानका उपभोक्ताहरू मर्कामा पर्दै आएका छन्, यिनको पिडा बुझी दिने को ? संस्थानले नियमित शुद्द खानेपानीको पूर्ति गर्न सकिराखेको छैन । यदि कुनै दिन धारामा पानी आयो भने पनि त्यसको विजोग हुन्छ, पूर्ण रूपले फोहर बालुवा वा माटो मिश्रित पानी प्रवाह हुन्छ पिउनै नमिल्ने । राजनितिक नियुक्तिले संचालित भएकोले होला खानेपानी संस्थानले कुन उपभोक्ताले अवैध तवरले खानेपानीको पाईपमा मोटर जडान गरेको छ भनि खोजखबर गर्नै पर्ने बाध्यता देखाउँदैन् । प्रभावकारी नियमन वा कारवाही नगरेकै कारण हामीले भन्ने सक्छौं, बाँदरको हातमा नरिवल । जनता वा भनौं उपभोक्ता मौन रह्नु पनि यि फोहर राजनितिक गर्ने व्यक्तित्वहरूले जनतालाई हेप्ने मौका पाईरहेका छन् । फलस्वरूप धारामा पानी आएपनि नआएपनि, सफा वा फोहर तर खानेपानी महसुल नितमित तिर्नु पर्ने बाध्यात्मक रहेको छ । अन्यायको परकाष्टा हो ।

नेपालको संविधान वाहेक अन्य विशेष कानून छन् जसले नेपाल खानेपानी संस्थानको स्थापना नेपालका विभिन्न क्षेत्रमा नियमित रुपले स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्य राख्दछन् । यहाँका विशिष्ट व्यक्तित्वका सोध्नै पर्ने प्रश्न, नेपालको विभिन्न क्षेत्र भन्नाले हाम्रो रामग्राम पनि पर्छ कि पर्दैन ? नगरपालिका क्षेत्रमा खानेपानी तथा सरसफाई सेवालाई नियमित, व्यवस्थित, गुणस्तरयुक्त र सुलभ बनाई त्यस्तो क्षेत्रका बासिन्दालाई भरपर्दो सेवा प्रदान गर्ने गराउने उचित र प्रभावकारी व्यवस्था गर्नु पर्ने बन्धनकारी व्यवस्था समेतको धज्जी उडिरहेको छ स्थानिय सरकारले नगरपालिका घोषित गर्न थुप्रै आदर्श व्यवस्थाको पालना गर्नु पर्ने हुन्छ जसमध्ये एक खानेपानी तथा सरसफाई हुनुपर्ने रहेको छ । मानि लिउँ नगरपालिका घोषणा गर्ने बेला यो व्यवस्थाको पूर्ति थियो तर आज खै स्वच्छ खानेपानी तथा खाध पदार्थको गुणस्तर नियन्त्रण र नियमन, के यो नगरपालिकाको काम कर्तव्यमा पर्दैन ?

नेपाल संयुक्त राष्ट्र संघको सदस्य रहेको देश हो । अन्तर्राष्ट्रिय स्तरमा अनुबन्ध भएका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्ने कानूनी दस्तावेज नेपालले प्रभावकारि ढंगले राष्ट्रिय कानून सरहकार्यान्व्यन गर्नु पर्ने हुन्छ । यस्ता थुप्रै दस्तावेज छन् जसले खाध सम्प्रभुतालाई नागरिकका नैसर्गिक हक मान्दछन् र यसले हरेक व्यक्तिलाई पर्याप्त, सफा, पिउनेयोग्य र स्वस्थ पानीको पहुँच पनि सामेल गर्दछ । यस हकअधिकारलाई अन्य अधिकारको पुर्वाधारको रूपमा लिन सकिन्छ । शुद्द खानेपानीको समस्या गम्भीर रहेको छ, नेपालको सर्वोच्च अदालतले शुद्द स्वच्छ र स्वस्थ खानेपानी जनता माझ पुर्याउनै पर्ने बाध्यात्मक ठानेको छैन । नेपाल सरकारलाई ठाडै आफ्नो दायित्वबाट विमुख बनाउने खोज्ने व्याख्याले नेपालको संविधानमा उल्लेख भएका मौलिक हकअधिकारको मजाक उडाएको भनि नेपाली जनताले मान्दा केही गलत हुने छैन् । खानेपानीको नाममा अर्बौंको घोटाला गर्ने हरूले,के प्रकृति र मानव जिवनको मुल्य मान्यता बुझेका होलान् र ?

अहिले सम्म जे जस्तो भएतापनि अब आफ्नो भविष्यको समेत ख्याल गर्दै यहाँका नागरिक सचेत हुनु पर्ने अवस्था छ । खानेपानी सम्बन्धमा जनताले आफ्नो हकअधिकार प्रति सचेत भई खानेपानीको विषयमा राजनिति गर्न वा गराउन दिनु हुँदैन् । यसमा खानेपानी संस्थान र स्थानिय तहका निकायहरू बिच सहकार्य गरी गराई गाउँ शहरमा पर्याप्त स्वच्छ र स्वस्थ खानेपानीको पहुँच पुर्याउन बाध्य पार्नु पर्ने भएको छ । नागरिक, खानेपानी संस्थान र स्थानिय निकाय बिच त्रिकोणिय सहयोग र सहकार्य आवश्यक छ । मानवलाई सभ्यताको प्रतिक मानेपनि सबै व्यक्ति सभ्य भेटिदैनन्, खानेपानीको पाईपमा गैरकानूनी तवरले मोटर जडान गरेकालाई कानूनी कार्वाही गर्न पछि हट्नु हुँदैन् । संस्थानले पाईप लिकेज वा अन्य कमीकमजोरी सम्बन्धमा निरन्तर नियमन र मर्मत कार्य गर्न सक्नु पर्छ । खानेपानी संस्थानले नियमित खानेपानीको व्यवस्था गर्न नसक्ने भए अन्य विकल्प खोज्न सकिन्छ, विश्वस्त रह्नुहोस् यसमा नगरवासीले पनि आवश्यक सहयोग गर्न सक्छन् । यदि सरोकारवाला निकाय खानेपानी संस्थान वा रामग्राम नगरपालिकाको कार्यालयले नयाँ सोचका साथ शुद्द खानेपानीको व्यवस्था नगरि उही पुरानै रवैया अपनाई नगरवासीलाई दुख हैरानी दिने कार्यलाई निरन्तरता दिएमा यिनीहरूका विरुद्दमा जस्तै हरेक घरधुरीबाट एक-एक गिलास खानेपानी सार्वजनिक रूपमा सरोकारवाला पदाधिकारीहरू पिउने व्यवस्था गर्ने लगायतका विभिन्न समयानुकुलका विरोध तथा खबरदारी कार्यक्रमहरू गर्न सकिन्छ ।