संक्रमित फेला परेपछि नवलपरासीमा लकडाउनमा कडाई

हरि शर्मा
परासी, १ जेठ ः कोरोना संक्रमित फेला परेपछि पश्चिम नवलपरासीमा लकडाउनमा कडाई गरिएको छ । बिहीबार जिल्ला सुरक्षा समितिको बैठक बसेर संक्रमित फेला परेको वडालाई शिलबन्दी गर्दै जिल्लाभरीको लकडाउनमा कडाई गरिएको हो । बुधबार प्रतापपुर गाउँपालिका–५ बड्की बैदौलीका ३६ वर्षीया पुरुषमा कोराना संक्रमण देखिएको थियो । बैठकले उक्त वडाको आवतजावतमा पूर्ण रोकलगाउँदै शिल गरेको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।
भारतबाट जिल्ला भित्रिने नेपालीहरुको संख्या बढ्दै गएपछि सुरक्षा समितिको बैठकले लकडाउनमा कडाई गरेको हो । बैठकले बैंक तथा वित्तिय संस्थाहरु बन्द गर्नुका साथै सम्पूर्ण निर्माण कार्यहरु बन्द गर्ने निर्णय गरेको प्रजिअ दाहालले बताए । यसअघि बैंक तथा वित्तिय संस्थाहरु २ बजेसम्म खुला थिए भने ठूला आयोजना र स्थानीय तहका आयोजनाहरु सञ्चालनमा थिए । निर्माण कार्यका नाउँमा टेक्टर र टिप्परहरुले खोलाबाट नदीजन्य पदार्थ ओसारपसार गर्दै आएका थिए । त्यस्तै अत्यावश्यक सवारीसाधनबाहेकका सवारी साधान सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।