22.1 C
Parāsi
Sunday, November 28, 2021
spot_img

साउदीमा अलपत्र १५ कामदार नेपाल फर्काउन किन भयो ढिलाई ?

काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका १५ जना नेपाली कामदार भोकभोकैको स्थितिमा पुगेपछि नेपाल फर्कन चाहेका छन् । तर, तीन साता बित्दा पनि उनीहरुलाई नेपाल फर्काउनेबारे खासै पहल भएन ।

आवश्यक अहलकदमीको अभावमा अहिलेसम्म ती कामदार नेपाल फर्काउने वा के गर्ने भन्ने विषयमा टुंगोमा पुग्न सकेको छैन । नेपाली कामदार अलपत्र स्थितिमा रहेको सार्वजनिक भएपछि श्रममन्त्री गोकर्ण विष्टले पनि तत्काल स्वदेश फर्काउन निर्देशन दिएका थिए ।

साउदी अरब पुर्‍याएपछि कहिले कता त कहिले कता पुर्‍याउँदै आएका थिए । त्यसरी अलपत्र अवस्थामा भोगभोगै रहेका ती नेपाली युवाहरुले आफूहरुको उद्दार गरिदिन अनुरोध गरेका छन् ।

ती कामदारहरुबारे साउदीस्थित श्रम सहचारी अम्बिका अधिकारीमार्फत् बुझ्ने काम भइरहेको रोजगार विभागका महानिर्देशक भिष्म भुसालले जानकारी दिए । ‘कतिपयले काम गर्ने भनेका छन् रे, कतिपयलेचाहिँ फर्किने भन्दैछन् रे’ महानिर्देशक भुसालले भने, ‘आज अधिकारीजी फलोअपमा जानुभएको छ, त्यसबारे मैले बेलुका खबर पाउँछु ।’

काठमाडौंस्थित अल फारुक ओभरसिजबाट ती कामदार साउदी अरब पुगेका थिए । साउदी अरबस्थित दूतावासको सिफारिसका आधरमा मेनपावरलाई पनि कारवाही हुने महानिर्देशक भुसालले जानकारी दिए ।

अरब पुर्‍याएपछि अहिलेसम्म काम पनि नदिएको ती कामदारहरुले बताएका छन् । मेनपावर व्यवसायीले भने काम नगरेर राजनीति गरेको बताएका छन् ।

नागरिकखबरलाई प्राप्त भिडियोमा उनीहरुले भोकभोकै रहेको बताएका छन् । चर्को गर्मीमा एसी नभएको साँघुरो कोठामा भेडाबाख्रा जसरी राखेको बताएका छन् ।

नेपालबाट मेनपावरले प्रतिव्यक्ति एक लाख २० हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म तिरेको उनीहरुले बताएका छन् । जबकि प्रतिव्यक्ति १० हजार रुपैयाँभन्दा बढी लिन नपाउने नियम छ ।

भोकभोकै साउदीको गर्मीमा नेपालबाट रोजगारीका लागि पुगेका युवाहरु अलपत्र अवस्थामा छन् ।

अलपत्र परेकाहरुमा रुकुमको आठबिसकोट नगरपालिकाका सेते सार्की, सिरहा गोलबजार नगरपालिकाका सुरजकुमार साह, स्याङ्जा बिरुवा गाउँपालिकाका अनिल दाहाल, रसुवा नौकुण्ड गाउँपालिकाका विजय मोक्तान छन् ।

त्यसैगरी, बैतडी मेलौली नगरपालिकाका दिपेन्द्र सिंह नायक, सप्तरीको कञ्चनरुप नगरपालिकाका उपेन्द्रकुमार यादव, रुपन्देहीको मायादेवी गाउँपालिकाका रामकुमार भर, बैतडीको मैलौली नगरपालिकाका कृतिसिंह नायक, मानसिंह नायक, राजेन्द्रसिंह विष्ट, दिपकसिंह नेगी छन् ।

त्यस्तै, जाजरकोटको शिवालय गाउँपालिकाका शेरबहादुर खत्री र स्याङ्जाको बिरुवा गाउँपालिकाका सुमन विक पनि अलपत्र अवस्थामा साउदीमा छन् ।

थप समाचार

ताजा खबर